लाहाको अभावमा पशुपतिनाथको जलहरी पुनःस्थापना गर्न कम्तीमा दुई दिन लाग्ने

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको सर्वोच्च आस्थाको केन्द्र पशुपतिनाथको शिवलिंगमा स्थापित जलहरी पुनःस्थापना गर्न केही दिन लाग्ने भएको छ । सुनको जलहरीको नूतन कलेवरका सम्बन्धमा अनेकानेक शंका र आशंका उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार निकालेको स्वर्ण निर्मित जलहरीको गुणवत्ता र तौल गर्ने व्यावहारिक र कानुनी दायित्व पूरा भइसकेपछि पूर्ववर्ती अवस्थामा स्थापना गर्न लाहा छापको आवश्यकता परेको बताइएको छ ।

पशुपति क्षेत्र विकास कोषसम्बद्ध एक अधिकारीका अनुसार जलहरी पुनःस्थापना गर्न लाहा लगाउनुपर्ने हुन्छ, तर अहिले उक्त लाहाको स्टक कोषमा उपलब्ध नभएका कारण भारतबाट मगाउनुपर्ने हुन्छ । भारतबाट मगाउन जति समय लाग्छ त्यति नै समय जलहरीलाई सुरक्षित ढंगबाट बाहिरै राख्नुपर्ने अवस्था आउँछ ।

जलहरी मन्दिरपरिसरको रुद्रगारेश्वरमै राखिराखेता पनि पशुपतिनाथको नित्य नैमित्य पूजाआजा भने नरोकिने कोषका ती अधिकारीले बताए । ती अधिकारीका अनुसार भारतबाट लाहा मगाउन कम्तीमा पनि दुई दिन लाग्न सक्छ । लाहा ल्याइसकेपछि यसलाई पुरानै ठाउँमा पुनर्स्थापित गर्न पहिले चाँदीको जलहरी भएकै स्थानमा लाहा छाप लगाएर राख्नुपर्ने हुन्छ । मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४ सय ६८ ग्राम भएको बताइएको छ ।

 

जलहरीको तौल अख्तियारले गरेका कारण पशुपति क्षेत्र विकास कोषले यसबारेमा केही जानकारी दिन चाहेन । तौलमा संलग्न अख्तियारका कर्मचारीहरूले अनुसन्धान सकिएपछि आधिकारिक जानकारी आउने बताएका छन् । उनीहरूले जलहरी राख्दा अनियमितता वा भ्रष्टाचार भयो वा भएन भन्ने विषयमा पनि केही बताएनन् । अख्तियारसम्बद्ध एक अधिकारीका अनुसार अनुसन्धान पूरा भएपछि प्रतिवेदन तयार गर्ने र त्यही प्रतिवेदन उपयुक्त समयमा सार्वजनिक गरिने छ । पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा ११ फागुन २०७७ मा चाँदीको सट्टा सुनको जलहरी प्रतिस्थापना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर