नास्तिक वामपन्थी नेताहरूको पशुपतिनाथको जलहरीमा नाम अंकित गराउने व्यामोह

काठमाडौं । पशुपतिनाथ मन्दिरको रुद्रगारेश्वरमा जलहरीको नापजाँच चलिरहेको बताइएको छ। जलहरी प्रकरणमा छानबिनका लागि अख्तियारको टोली जाने भएपछि आइतबार दिउँसोदेखि नै पशुपतिनाथ परिसरमा दर्शनार्थीहरुलाई रोक लगाइएको छ ।
नापजाँचका लागि जलहरी निकालेपछि त्यसमा १३ जनाको नाम कुँदेको पाइएको जाँचमा संलग्न कर्मचारीहरूले बताएका छन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको बेला राखिएको जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री ओलीसहित उनीहरु निकटका १३ जनाको नाम कुँदिएको पाइएको छ। सामान्यतयाः जलहरी एक वा दुई सय वर्षमा पनि ननिकालिने प्रचलन रहेको छ ।

राष्ट्रबैँकबाट किनिएको १०३ किलो ७७३ ग्राम सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो। उक्त जलहरीमा करिब १० किलो सुन भने कम पाइएको महालेखा परीक्षकको कार्यालयले औँल्याएपछि यसको नापजाँच सुरु भएको हो। अख्तियार टोलीमा सहसचिवको नेतृत्वमा तीन कर्मचारी छन् भने उनीहरुले नापतौल विभागका प्रतिनिधिहरु पनि लिएर गएका छन्।

जलहरी विवादमा केपी ओलीसहित तत्कालीन पदाधिकारीहरुमाथि औँला उठेपछि प्रेम राई नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको हो । उक्त सुन खरिदमा ५० करोड रुपैयाँ पशुपति क्षेत्र विकास कोषबाट निकासा गरिएको थियो भने ३० करोड राज्यकोषबाट व्यहोरिएको थियो। बाहिरबाटै उक्त परिणाममा सुन किन्ने तयारी भए पनि शुद्धता र परिमाणमा प्रश्न उठेपछि सरकारको आधिकारिक निकाय राष्ट्र बैँकबाटै सुन खरिद गर्ने निर्णय सरकारले गरेको हो। नेपालका नास्तिक वामपन्थीहरू समाजमा विद्यमान सांस्कृतिक प्रभावको प्रयोगको तथाकथित सिद्धान्तअनुरूप जलहरीमा नाम अंकित गर्न पनि चुकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर