दर्ता नभएका मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने

काठमाडौँ । दर्ता नभएका मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो । दर्ता नभएका त्यस्ता मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले उल्लेख गरेको छ ।

२०७९ पुस १५ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयन आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो । त्यसअघि नै प्राधिकरणले असोज १ गते यसको परीक्षणकालीन सुरुवात गरेको थियो । त्यति बेला २०७९ भदौ मसान्तसम्म प्रयोगमा रहेका सबै मोबाइललाई स्वतः उक्त प्रणालीमा दर्ता गरिएको थियो । त्यसयता दर्ता नभएका मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको थियो तर एमडीएमएस प्रणाली नै कार्यान्वयनमा आउन नसकेपछि मोबाइल दर्ताको विषय सेलाएको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत दर्ता नभएका त्यस्ता मोबाइललाई राजस्व तिरेर दर्ता गर्न सकिने व्यवस्था गरेपछि विभागले त्यसको कार्यान्वयनका लागि असारसम्मको समय तोकेको हो । असारभित्र दर्ता नहुने मोबाइलमा ‘नेटवर्क लक’ हुने छ जसले गर्दा नेपालका दूरसञ्चार सेवाप्रदायकको सेवा लिन पाइने छैन ।

आर्थिक विधेयकमा विभिन्न कारणले दर्ता हुन नसकेमा मोबाइल फोन सेटको आइएमइआई नम्बर उल्लेख गरेर एकमुष्ट महसुलबापत आइफोन र एक लाख रुपियाँभन्दा बढी मूल्यका लागि प्रतिफोन १० हजार रुपियाँ, अन्य स्मार्ट फोन सेटका लागि प्रतिफोन सेट तीन हजार रुपियाँ र स्मार्ट मोबाइलबाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोन सेट दुई सय रुपियाँ बुझाएर सोको प्रमाणसहित एमडीएमस प्रणालीमा दर्ता गर्न चाहेमा प्राधिकरणले त्यस्ता फोन दर्ताको व्यवस्था गर्नुपर्ने उल्लेख छ । सोही अनुसार एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइललाई प्राधिकरणले ‘गे्र’ सूचीमा राखेर दर्ता गर्ने व्यवस्था गराएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर छ महिनाभन्दा बढी अवधि विदेशमा बसी फर्केका नेपाली नागरिकले त्यसको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेका एक थान मोबाइल फोन प्राधिकरणले निःशुल्क दर्ता गर्न व्यवस्था मिलाउनुपर्ने विधेयकमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर