जसपा पनि प्रत्यक्ष राष्ट्रपतिको पक्षमा, संसद् पूर्ण समानुपातिक

काठमाडौं  ।  जनता समाजवादी पार्टी (जसपा) राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ। जसपाको नयाँ विधानमा राज्यको शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रतिनिधित्व भएको संसदको परिकल्पना गरिएको छ।

यस्तै जसपाले लोकतन्त्र, सामाजिक न्याय र समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट जनताको नागरिक र राजनीतिक अधिकार, आर्थिक , सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउने, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने उद्देश्य लिएको छ।

जसपाको आइतबारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि शनिबार केन्द्रीय समिति बैठक बसेको छ। बैठकमा विधान अधिवेशन, समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदन लगायतका विविध विषयमा छलफल भएको छ ।

यसैगरी आइतबारको विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मनोनीत हुने १० जनासहित सात सय ७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ। यसरी सहभागी भएका प्रतिनिधिलाई ११ समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर