“सामाजिक रूपान्तरणका निम्ति नवीन सोच अपरिहार्य”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य भएको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘‘मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाको निम्ति सामाजिक रूपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो।’’

उनले हरदम आफ्नो विचार, सोच र शैलीलाई सिर्जनात्मक ढंगले विकास गर्ने व्यक्तित्वको आफूले सँधै उच्च मूल्याङ्कन गर्ने गरेको बताए । ‘मानव समाजको विकास पनि नवीन सोचको खोजीको क्रममा भएको हो। मानव र अरु प्राणी बीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले भने, ‘‘अहिले २१ औं शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनुपर्दछ। मलाई विश्वास छ, तपाइँहररूले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सिर्जनात्मक नवीन सोचलाई प्रोत्साहित गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ।’

प्रधानमन्त्रीले वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताए । उनले भने, ‘त्यसको लागि आफैँभित्र सबैभन्दा पहिला सुशासनको सुरुवात गर्नुपर्दछ।’ प्रधानमन्त्रीले स्थायी सरकारको रूपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभावित हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर