वर्षायाममा पनि मेलम्चीको पानी वितरण गर्ने आयोजनाको प्रयास जारी रहने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरक्षा पूर्वाधारको काम राम्रो भएकाले यसपटकको वर्षायाममा काठमाडौं उपत्यकामा मेलम्चीको पानी निरन्तर आउने सम्भावना बढेको जनाएको छ।

दुई वर्षअघि असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पु–याएको थियो। २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठुलो क्षति पु-याएपछि गत वर्ष पानी आपूर्ति बन्द गरिएको थियो।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, “आयोजनाको गेट नम्बर १ र ९ मा केही सुधारका काम भएका छन्। ती गेटलाई बन्द गर्न सकिने तथा धमिलो पानी सफा गर्न सकिने प्रणाली पनि जडान गरिएको छ। त्यसैगरी बाढीपहिरोको पूर्वसूचनाका आधारमा ‘हाइड्रो मेकानिकल’ प्रणालीका आधारमा स्विच थिचेर आयोजनाको मुहानको ढोका बन्द गर्न तथा खोल्न सकिन्छ। विगतमा आठ–दस जनाले चेन तानेर ढोका बन्द गर्ने तथा खोल्नुपर्ने अवस्था थियो।” त्यसैले यसपाली खोलामा सामान्य पानी बढ्दैमा पानीको वितरण नै रोक्नुपर्ने अवस्था आउने छैन ।’’

“खोलामा बहाव मात्र बढेको छ। ढुङ्गा र बालुवासहितको बाढी आएको छैन भने पानी वितरणलाई निरन्तर गर्न सकिने गरी मुहान क्षेत्र तथा हेडवक्र्समा संरचना निर्माण गरिएको छ। विगतमा भन्दा अहिले चनाखो भइएको छ। त्यत्रो मात्रामा बाढीपहिरो जान्छ भनेर दुई वर्षअधि कसैले अनुमान नै गरेको थिएन’’, उनको भनाइ थियो ।

आयोजनाका इन्जिनियर पद्मबहादुर कुँवरले मुहान तथा हेडवक्र्समा विगतको तुलनामा यस वर्ष सुरक्षाका थप उपाय अपनाइएको हुनाले खोलामा सामान्य पानी बढेकै आधारमा पानीको वितरण नरोकिए पनि नियमित रूपमा खोलाको पानी बढ्नुका साथै मूल फुट्न थालेपछि आयोजनालाई बन्द गर्नुको विकल्प नहुने उनले स्पष्ट पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर