बालेनको सुरक्षाकर्मी र हिसानकर्मीबीच भृकुटीमण्डपमा भनाभन

काठमाडौं । नतिजा प्रकाशनपूर्व नै विभिन्न तहको भर्नाका लागि शैक्षिक मेला आयोजना गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रदर्शन कक्षहरू हटाएको छ ।

माध्यमिक विद्यालय सङ्घ (हिसान) ले बिहीबारदेखि भृकुटीमण्डपमा सुरु गरेको उक्त मेला सञ्चालनको उपयुक्त समय अहिले नभएको भन्दै कामपाले उक्त स्थानमा राखिएको प्रदर्शन कक्षहरू हटाएको हो । कामपाको शिक्षा विभागका अधिकारी र नगर प्रहरीको संयुक्त प्रयासमा त्यहाँ रहेका कक्षहरू हटाइएको हो ।

कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार एसइई र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो ।

परीक्षाको नतिजा नै प्रकाशित नभएको अवस्थामा मेलामार्फत विद्यार्थी र अभिभावकलाई झुक्याउने र लोभ्याउने काम भएपछि मेला हटाउनुपरेको प्रमुख कोइरालाको भनाइ छ ।

एसइई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राखिएको मेला उपयुक्त समयमा सञ्चालन नभएको कामपाले बताएको छ । मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका थिए । मेला आगामी असार ३ गतेसम्म सञ्चालन गर्ने उद्देश्यसहित सुरु गरिएको थियो । कामपाले यसअघि नै यी र यस्ता गतिविधि सञ्चालन नगर्नका लागि सम्बद्ध निकायलाई आग्रह गर्दै आएको थियो । त्यसैगरी शिक्षासँग सम्बन्धित विभिन्न जानकारी दिने उद्देश्यसहित बाँड्ने पर्चाको पनि कामपाले नियन्त्रण गर्दै आएको छ ।

शैक्षिक मेला जारी रहन्छ : हिसान

काठमाडौँ महानगरपालिकाले भृकृटीमण्डपमा जारी चारदिने शैक्षिक मेला ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’ रोक्न निर्देशन दिए पनि आयोजकले केन्द्र सरकारको सम्बन्धित निकायसँगको अनुमतिप्राप्त भएकाले मेलालाई निरन्तरता दिने जनाएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा भएको सो मेलाले माध्यमिक शिक्षा परीक्षा कक्षा १० र १२ को परीक्षाको परीक्षाफल प्रकाशन नभएको समयमा विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न खोजेको भन्दै रोक्नका लागि आज दिउँसो कार्यक्रमस्थलमा महानगरपालिकाका सुरक्षाकर्मी पुगेका थिए ।

हिसानका अध्यक्ष रमेश सिलवालले आफूहरू कानूनतः दर्ता भई सञ्चालनमा रहेको, नियमानुसार राजस्व तिरेको र मेलाबारे केन्द्र सरकारका सम्बन्धित निकायबाट स्वीकृति लिएको तथा महानगरपालिककालाई जानकारी दिइएकाले स्थगन नगर्ने बताए । उनले मेलामा हस्तक्षेप गर्ने अधिकार महानगरपालिकालाई नभएको जिकिर गरे । सो मेलाको उद्घाटन प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर