महावीर पुनको पनि राजनीतिमा आउने चाहना, तर सम्भावना १ प्रतिशत !

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बाध्य भएर राजनीतिमा आउनुपर्ने अवस्था सिर्जना हुँदै गएको बताएका छन् । दीर्घकालीन सपनासहित मरिमेटेर काम गर्नेहरूका लागि आवश्यक कानुन बनाउन नेताहरूले नसक्ने र मन्त्रालयका सचिवहरूले कानुन छैन भनेर दुःख दिने तरिकाले देशको आर्थिक स्थिति सुधार नहुने र त्यो सह्य नहुने पनि उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्टाट्स लेख्दै उनले अहिलेसम्म १ प्रतिशतभन्दा पनि कम सम्भावना रहेका कामहरू आफूले गरेको र गर्नू परेको उल्लेख गर्दै आफू राजनीतिमा आउने सम्भावना भने १ प्रतिशत रहेको बताएका छन् । उनले लेखेका छन् , “मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरू सुन्नुहोस् र बुझ्नु होस् । म पनि चुनावमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस् ।”

उनले सार्वजनिक गरेका एक प्रतिशतवाला सम्भाव्य घटनाहरू निम्न अनुसार छन् ः–

१. म सानो छँदा हाईस्कुल पढुँला भनेर सोचे कै थिएन । किनभने त्यतिबेला म्याग्दीको पुनमगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाईस्कुल पढाएका थिएनन् । तर जसरी तसरी मेरो बाबाले मलाई हाईस्कुल पढाए र म शिक्षक बनेँ ।

२. मैले ३१ वर्षको उमेरसम्म अमेरिकामा गएर पढ्न जान पाउँला भनेर सोचेकै थिएन । अनि ३२ वर्षको उमेरमा अमेरिका पढ्न जान पाउने सम्भावना १ प्रतिशत पनि थिएन । तर जबर्जस्ती लागेर ३४ वर्ष लाग्दा अमेरिकामा ब्याचलर पढ्ने मौका पाएँ ।

३. म अमेरिकाबाट फर्केर नेपालमा बसुँला र गाउँ–गाउँमा काम गरुँला भनेर सोचेकै थिएन र के गर्ने भन्ने थाहा नै थिएन । त्यसको सम्भावना १.५ प्रतिशत मात्र थियो होला । तर अमेरिकाबाट फर्केर म नेपालमा बसेर काम गरेको ३१ वर्ष भयो ।

४. वायरलेस प्रविधिलाई प्रयोग गरेर नेपालको दुर्गम गाउँहरूमा इन्टरनेट पुर्‍याउने सम्भावना १ प्रतिशत पनि थिएन । विदेशी इन्जिनियरहरूको भनाइ अनुसार त त्यो काम असम्भव नै थियो । तर त्यो काम पनि जबर्जस्ती सुरु गरियो र सफल भयो ।

५. सन् २०१७ सम्म राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउन सकिएला भन्ने १ प्रतिशत जति पनि आशा थिएन । किनभने कुनै पनि सरकार, बैंक र दात्री संस्थाहरूले पटक्कै पत्याएनन् । तर अहिले त आम नागरिकको सहयोगले गर्दा चन्द्रमा सम्म पुग्न नसके पनि नेपाललाई अझै धेरै माथि पुग्ने आँट्छ ।

अन्तमा, मैले नेपालमा राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावना छैन किनभने म त्यसो गर्न कुनै हालतमा पनि चाहन्नँ । तर अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नुपरेको वाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रूपमा रहिरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । लौ जा, जे पर्ला पर्ला । दीर्घकालीन सपनासहित मरिमेटेर काम गर्नेहरूको लागी आवश्यक कानुन बनाउन नेताहरूले नसक्ने र मन्त्रालयका सचिवहरूले कानुन छैन भनेर दुःख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रँदैन र त्यो सह्य हुने छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर