केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित बुधबार अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको जानकारी दिए ।
“समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठुलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ’’ प्रधानमन्त्रीले भने, “नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो । त्यसका लागि उक्त एकता गरिएको थियो ।’’
“हिजोको एकता कायम राख्न सम्भव भएन । तर लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन,’’ प्रचण्डले भने, “फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्ताबेज टुङ्गाएका छौँ । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधरहरू छन् । उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ ।’’

“फेरि नेकपा बनाउने कोसिस भइरहेको छ। यसभित्र ठुलो अर्थ छ। जनताको ठुलो हिस्सालाई सङ्गठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी छ। देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ“ प्रधानमन्त्रीले भने ।

“हाम्रो क्रान्ति मौलिक र जीवन्त छ । हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गर्‍यौँ । हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ । लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो । तर उहाँले लेखेजस्तै दस्ताबेजमा भनिए जस्तो क्रान्ति भएन । मौलिक भयो। किताबमा लेखेजस्तो होइन, जीवनमा भोगे जस्तो क्रान्ति भयो । लेनिनले फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो । हाम्रो पार्टीको आठौँ महाधिवेशनको दस्ताबेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरिएको छ । त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको छ ।’’

उनले भने, “भ्रष्टाचारलाई निर्मूल पारेर नै देश निर्माण गर्न सकिन्छ, पार्टी पुनर्निर्माण गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामी कसैसँग सम्झौता गर्दैनौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याउँछौँ । भ्रष्टाचारका नयाँ फाइलहरू खोल्छौँ ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर