यसपाली रासायनिक मलको अभाव नहुने : कृषिमन्त्रालय

काठमाडौं । कृषि मन्त्रालयले यसपटकको धानबालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । हाल मन्त्रालयसँग ७३ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको र मल केही मल खरिदको प्रक्रियामा रहेकाले यसपटकको धानखेतीमा किसानले मलको अभाव झेल्नु नपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए । “यसपालि ७३ हजार मेट्रिकटन मल मौज्दात रहेको र एक लाख मेट्रिकटन मल असार भित्र नै खरिद हुने भएकाले किसानले मलको अभाव झेल्नु पर्दैन”, उनले भने ।

धानबालीका लागि सरदर डेढ लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने विगतका तथ्याङ्कले देखाएकाले सो मात्रामा मल आयात हुने उनको भनाइ छ । सञ्जेलका अनुसार आर्थिक वर्ष २०७९–८० मा गत जेठ २५ गतेसम्म तीन लाख तीन हजार मेट्रिकटन मल आयात भएको र गत वर्षको बाँकी मौज्दातसहित दुई लाख ६० हजार मेट्रिकटन मल बिक्री भइसकेको छ । यस्तै कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने २० हजार मेट्रिकटन डिएपी मल भारतको विशाखपट्नम बन्दरगाहबाट आउँदै गरेको र सो मध्ये केही मल वीरगञ्ज आइसकेको उनले बताए ।
साल्ट ट्रेडिङ् कर्पोरेसनले आयात गर्ने २७ हजार मेक्ट्रिकटन युरिया मल कोलकाताबट नेपाल आउँदै गरेको र सोमध्ये केही मल नेपाल भित्रिसकेको छ । २५ हजार डिएपी मल आगामी सोमबारसम्म कोलकाता आइपुग्ने कम्पनीले जानकारी गराएको उनले बताए । यस्तै, कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने पाँच हजार मेट्रिकटन पोटास र साल्ट ट्रेडिङ् कर्पोरेसनले आयात गर्ने दुई हजार पाँच सय मेक्ट्रिकटन पोटास भारतको विशाखपटनम् आइसकेको र भारत सरकार डिपार्टमेन्ट अफ फर्टिलाइजर ले पुनः निर्यात अनुमति दिएपश्चात् नेपालका लागि आउने उनी बताउँछन् ।
साल्ट ट्रेडिङ् कर्पोरेसन लिमिटेडले आयात गर्ने २० हजार मेट्रिकटन डीएपी मलका लागि जहाज चीनको बन्दरगाहमा लोड गर्ने क्रममा रहेको र सो मल जेठ ३२ गतेसम्म कोलकाता आइपुग्ने छ । कोलकाताबाट रासायनिक मल नेपाल आउनका लागि २० देखि २५ दिन लाग्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर