गोलभेंडाको खानुका फाइदा अनेक ! के के पाइन्छ गोलभेंडामा ?
काठमाडौं । गोलभेंडा भान्सा कहिल्यै नछुट्ने चीज हो । हरेक तरकारी, माछामासु, गेडागुडी पकाउँदा गोलभेंडा अनिवार्य नै मानिन्छ । यति मात्र होइन गोलभेंडालाई अचारको रुपमा पनि प्रयोग गरिन्छ । गोलभेंडाको अचारको स्वाद मन नपराउने सायदै होलान् ।
तरकारीमा गोलभेंडा मिसाउँदा रंग र स्वाद त राम्रो बनाउँछ नै यसमा पाइने पौष्टिक तत्वले स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ ।
के के पाइन्छ गोलभेंडामा ?
गोलभेंडा भिटामिनको राम्रो स्रोत हो । यसमा भिटामिन डी, पोटासियम, फोस्फोरस, म्याग्नेसियम, फाइबर, प्रोट्रिन इत्यादि पाइन्छ । साथै न्यून क्यालोरी पाइन्छ । गोलभेंडा खाँदा शरीरको पानीको मात्रा पनि बढ्छ ।
कसरी खाने ?
गोलभेंडा तरकारीमा हालेर त अधिकांशले खाएकै हुन्छन् । तर यसलाई सलादको रुपमा खाने गरे शरीरलाई अझ बढी फाइदा पुर्याउँछ । पकाएर खाँदा यसमा भएका केही तत्व खेर जान्छन् । तर काँचो गोलभेंडा खाँदा आफैंले उब्जाएको खानु राम्रो हुन्छ, बजारमा पाइने गोलभेंडामा विषादी प्रयोग भएको हुन्छ । बजारमा पाइने गोलभेंडा भने पकाएर मात्रै खाँदा उपयुक्त हुन्छ ।
गोलभेंडा पनि समयानुसार खानु राम्रो हुन्छ । बिहान खानासँग, दिउँसो र बेलुका सलादको रुपमा खानु राम्रो हुन्छ । तर बिहान खाली पेटमा र राति सुत्ने बेलमा गोलभेंडामा खानु भने राम्रो हुँदैन । किनभने यसमा भएको अम्लीयपन शरीरमा एसिडिटी बढाउँछ ।
गोलभेंडाका फाइदा
गोलभेंडामा हुने रातो भागामा लाइकोपेनी नामक तत्व हुन्छ । त्यसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन सहयोग गर्छ । साथै अनुहारमा चाउरीपन हुनबाट जोगाउँछ ।
यसमा पाइने एन्टिअक्सिडेन्टले विभिन्न प्रकारका रोगबाट जोगाउँछ भने मोटोपन नियन्त्रणमा पनि यसले मद्दत गर्छ । यसलाई विभिन्न कस्मेटिक्स प्रयोजनको लागि पनि प्रयोग गर्ने गरिन्छ ।
बेफाइदा
गोलभेंडामा धेरै मात्रामा अम्लीय हुन्छ, जसले एसिडिटी बढाउन सक्छ । यस्तै अधिक सेवनले छातीमा जलन हुने, मिर्गौलाको पत्थरी समेत हुने जोखिम हुन्छ ।
दम, बाथ र गोलभेंडाको एलर्जी भएका मानिसले यसलाई नखाँदा उचित हुन्छ ।
विषादीरहित गोलभेंडा कसरी चिन्ने ?
गोलभेंडा बाहिरबाट हेरेर यसमा विषादी छ कि छैन थाहा पाउन सकिंदैन । तर सर्वसाधारणलाई थाहा भएकै कुरा हो अहिले विषादीबिना कुनै पनि तरकारी उब्जाउ हुँदैन । जुनसुकै तरकारीमा विषादी हालेर नै उब्जाएका हुन्छन् । त्यसैले यस्ता तरकारी काँचै भन्दा पनि पकाएर मात्रै खानु राम्रो हुन्छ ।
गोलभेंडा बजारबाट किनेर ल्याएपछि केही काम गर्नुपर्ने हुन्छ ।
-सफा पानीले धुने
-नुनपानीमा डुबाएर १०-१५ मिनेट राख्ने
-बजारबाट किनेर ल्याएको एक-दुई दिनपछि मात्र प्रयोग गर्ने
-विषादीरहित बनाउने मेसिनमा राख्ने ।