अमेरिका र माल्टा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । रोजगारीका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छाँयानाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ३४ वर्षीय प्रवीन खड्का पक्राउ परेका हुन्।

श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने त्यसका लागि ३१ लाख लाग्ने र अमेरिका पुगेपछि मोबाइल सफ्टवेयर कम्पनीमा काम लगाइदिने भनेका थिए। यसैगरी मासिक तीन लाख ५० हजार तलब रुपैयाँ हुने विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी छ लाख २१ हजार रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

यसैगरी, खड्काले कर्णबहादुर बुढासमेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने तथा माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भनी नौ लाख रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा प्रहरीले आइतबार कुलेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको काठमाडौं प्रहरी उपरीक्षक रेग्मीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर