पशुपतिनाथबाट साँढेको तस्करी, एकजना पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरमा छाडिएका साँढे तस्करी हसने गरेको खुलासा भएको छ । एक साताभित्रको दुईवटा साँढे चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो।

गत जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फर्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले अभियुक्त बोहोरासँगै बा१३च १४०१ नम्बरको पिकअप भ्यान बरामद गरेको छ। साथै गाडीमा राखिएको एउटा साँढे उद्धार गरिएको प्रहरीको भनाइ छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बौद्धबाट अर्को एउटा साँढेको पनि उद्धार गरिएको बताए । उनका अनुसार शुक्रबार पशुपति क्षेत्रबाट बौद्ध पु-याइएको साँढेफिर्ता ल्याएर औषधोपचार गरिएको छ।

उनले भने, “ठुला भएका साँढे चोरी गर्ने गिरोह सक्रिय भएको पाइयो। यस्ता साँढे पाँच मिनेटमा छोटो दुरी मात्रै हिँड्न सक्छन्। शुक्रबार बौद्धमा पु–याएर बाँधेको अवस्थामा फेलाप–यो। हानेर भागेको भागै ग–यो। बल्लबल्ल उद्धार गरी ल्याएर औषधि लगाइयो।”

डा. खतिवडाले पशुपतिनाथ मन्दिरमा प्रत्येक पूर्णिमामा १२ वटा र मकैसुब्बा गुठीबाट एउटा गरी वर्षमा १३ वटाका दरले पशुपतिनाथका नाममा साँढे छाड्ने परम्परा रहेको बताए । उनका अनुसार यसरी छाडिएका साँढे बाहिरै रहन्छन्। “कहिलेकाहीँ पशुपतिनाथबाट साँढे हराउने कुरा सुनिन्थ्यो तर चोरी नै हुँदोरहेछ भन्ने अहिले खुल्यो”, उनले भने ।

डा. खतिवडाले साँढे संरक्षणमा पशुपति गौशाला धर्मशालाको दायित्व हुने बताए । उनले भने, “पशुपति गौशाला धर्मशालाको जिम्मेवारी नै पशुपतिनाथका नाममा छाडिएका साँढे संरक्षण गर्नु हो तर गौशाला धर्मशालामा जर्सी गाई पालेर दूध व्यापार गरिन्छ।साँढे बाहिरको बाहिरै हुन्छन्। त्यो जग्गा नन्दी संरक्षण गर्न हो, जर्सी गाई पाल्न होइन।” पशुपति गौशाला धर्मशाला अहिले मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर