गाईभैंसीलाई लम्पी स्किन रोगबाट बचाउन खोप लगाउन सुझाव

काठमाडौं । लम्पी स्किन रोग लाग्नबाट बचाउन खोप लगाउन पशु विज्ञहज्ञले सुझाव दिएका छन् । पशु विज्ञहरूका अनुसार गर्मीयाम सुरु भएलगत्तै देशका विभिन्न जिल्लामाका पशुमा प्रकोपका रुपमा लम्पी स्किन नामक सङ्क्रमण फैलिएको हो ।

कृषि तथा पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा. चन्द्र ढकालले यो रोगको प्रभावकारी उपचार नभएकाले पशुलाई रोग लाग्नबाट बचाउन खोप लगाउन आग्रह गरे । डा. ढकालका अनुसार पुश बिरामी भएको बेला र एक पटक सङ्क्रमित भई निको भएका पशुलाई खोप दिन आवश्यक पर्दैन । नेपालमा पहिलो पटक २०७७ सालमा करिब तीन हजार पशुमा लम्पी स्किन रोगलागेको पुष्टि भएको थियो ।

हाल करिब ४२ जिल्लाबाट ३५० स्थानीय तहका लगभग चार लाख पशुमा रोग पुष्टि भइसकेको छ । त्यसैगरी, सात हजार पशुहरुको मृत्यु भएको विभागको तथ्याङ्क रहेको छ ।

के हो पशुमा देखिने लप्पी स्किन ?

लम्पी स्किन रोग झिङ्गा, भुसुना, लामखुट्टे, किर्नाको टोकाईबाट पशुमा सर्ने सङ्क्रामक रोग हो । यो रोग पशुबाट पशुमा सरेपनि पशुबाट मानिसमा सर्ने कुनै पनि अध्ययनले पुष्टि गर्न नसकेको विज्ञहरूको भनाइ छ ।

यो रोग सङ्क्रमित गाईभैंसीको ओसारपसार सामुदायिक चरण क्षेत्र, दाना, पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा गाईभैंसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने डा. ढकालले जानकारी दिए । उनले यो रोग विशेषगरी गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती किरा बढी सक्रिय हुने भएकाले प्रकोपको रुपमा देखापर्ने बताए ।

डा. ढकालका अनुसार गाईभैंसीमा उच्च ज्वरो आउने, छालामा साह्रो गिर्खा देखिने, गिर्खा विस्तारै टाउको, घाँटी हुँदै शरीरभरीनै फैलने गर्छ, रोगी गाईभैंसीको दूध उत्पादन घट्ने जस्ता यो रोगका प्रमुख लक्षण हुन् । यो रोग सामान्यतया १० देखि १५ दिनमा आफैँ निको हुँदै जानेछ ।
यो रोग देखिएका पशुमा यदि ज्वरो आएको छ भने ज्वरो घटाउनका लागि पारासिटामोल वा (मेलोक्सिकेम) प्रयोग गर्न डा. ढकालको सुझाव छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर