नेपाल–भारत सीमा समस्या कूटनीतिक संयन्त्रमार्फत समाधान गरिने : प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आफ्नो चार दिने औपचारिक भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरूको समाधान गरिनेछ भनेर भारतका प्रधानमन्त्री मोदीले सीमासम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा दिनु भएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रूपमा लिएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘भेटवार्तामा सीमासम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढङ्गले आग्रह गरेको छु । यहाँहरूलाई थाहा नै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतका प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’’

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी दिए ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले आज (सोमबार) गरेको भेटमा उनले कार्यविधि तथा नियमावली बनाउने क्रममा गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘एक पटकको नेपाली, सधैँ नेपाली’ भइरहने र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिन थप सशक्तरुपमा अघि बढ्न सङ्घका प्रतिनिधिलाई आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर