विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सवपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि बैठक एक घन्टाका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक सञ्चालनमा अवरोध उत्पन्न नगर्न अनुरोध गर्दा पनि विपक्षी दलका सांसदहरूले विरोध गर्न थालेपछि बैठक स्थगित गरिएको हो ।

यसभन्दा अघि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरे । सभामुख घिमिरेले यथास्थानमा बसेर बैठक सन्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरुले बैठकमा नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आजको बैठकको कारबाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम स्थगन गर्न प्रस्ताव पेस गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल नगरी संसद् नियमितरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै शाहीले निर्धारित सबै कार्यक्रम स्थगन गर्न माग गरे ।

यसैगरी नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर