खुला हृदयका साथ नेपालमा लगानी गर्न भारतका उद्योगी, व्यवसायीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले बिहीबार साँझ भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् ।
सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए ।

निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रूपमा सरकारले साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोही अनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलबारे जानकारी गराए । नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीबाट प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने उल्लेख गरे ।

भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफल रूपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पश्चिम सेती, सेती नदी (एसआर–६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए । उनले नेपाल र भारतबीचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि आफूहरू मिलेर अगाडि बढ्नुपर्ने बताए ।

भारतका सङ्घीयमन्त्री पीयूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्वितीय रहेको बताए । सीमा, भू–राजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उनले आफूहरू एकै परिवारका सदस्यका रूपमा रहेको बताए । उनले भारतीय प्रधानमन्त्रीले अगाडि सारेको छिमेक पहिले नीतिका साथ नेपाल र भारतबीच साझा दृष्टिकोणका साथ समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले व्यापार र वाणिज्यका लागि आज भएको सहमति आफैँमा महत्वपूर्ण भएको बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठुलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीको सफल उदाहरण पेस गर्दै नेपाल र भारतका उद्योगी व्यवसायीको साझा सहकार्यका लागि आग्रह गरे । भारतीय उद्योग परिसङ्घका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबीच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्न छलफल महत्वपूर्ण भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर