५२ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । फ्रान्स र सर्बिया पठाइदिन्छु भन्दै ५२ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका सुरेश कुमार पाख्रिन र सर्लाहीका निरोज बुढाथोकी रहेका छन् ।

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा बैतेश्वर नगरपालिका ३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका १३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीहरुमा काम लगाइदिन्छु, मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४० लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका ३ पुल्चोकबाट पक्राउ गरेको हो ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा काम लगाइदिन्छु मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटक पटक गरी १२ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ सिनामंगलबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर