प्रधानमन्त्री प्रचण्ड आज भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चारदिने औपचारिक भारत भ्रमण बुधबारदेखि हुँदैछ। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे मङ्गलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्मा प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफल अघि बढाउने विषयमा कुरा भएको बताइन् ।

यसैबीच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग छलफल हुने जानकारी दिए । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायतका कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको बताए ।

परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुने बताए। उनले कार्यान्वयन गर्न सकिने सम्झौताका विषयमा छलफल र हस्ताक्षर हुने प्रस्ट पारे ।

हवाई ट्रान्जिट र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सवालमा उठेका विषयप्रति दुई देशका सरकार प्रमुखले छलफल गरेर टुङ्गो लगाउने नेपालको तयारी रहेको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँग रहेका केही असमझदारीलाई यो भ्रमणले हटाउने सम्भावना प्रवल रहेको मन्त्री साउदले प्रस्ट्याए ।

प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर