साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार बरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले यादव सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गतेदेखि २०७९ असाल मसान्तसम्मको अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको बताए । प्रवक्ता दाहालका अनुसार यादवले सेवा अवधिमा समग आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ निज र निजको एकासगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, बिमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण–सापटीको साँवाव्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व–कर तिरेको र बैंक मौज्दातसमेत गरी उक्त रकम लगानी र खर्च गरेको देखिएको छ ।

दुई करोड ७७ लाख २२ हजार ५० रुपैयाँ आर्य आर्जन गरेकोमा वरिष्ठ निरीक्षक यादवले वैध आय अनुपातमा सोही अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ । यादवको कुल वैधानिक आयलाई गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआएको प्रवक्ता दाहालले अनुसन्धानबाट खुलेको बताए ।

प्रवक्ता दाहालका अनुसार यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनाश यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर