“अब केही हुन्छ र हुनसक्छ भनेर विश्वास जगाउनु छ”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका काण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताए ।

उनले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहको बारेमा खोजीनीति गर्ने पनि प्रतिबद्धता व्यक्त गर्दै भने,“भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पु¥याउनुपर्ने र नागरिक माझ व्याप्त यसबारेका शङ्काहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको छ ।”

‘‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजीनीति गरिन्छ । ठूला–ठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ’’, प्रधानमन्त्री प्रचण्डले भने, ‘‘ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरु छन् । के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन । यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’’

प्रधानमन्त्री प्रचण्डले आफ्नो बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको सुनिश्चित हुनेगरी छलफल गर्ने प्रतिबद्धता जनाए । उनले भारत भ्रमणमा सिमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने पनि बताए । प्रधानमन्त्रीले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर