आज देशभर १६ औँ गणतन्त्र गणतन्त्र दिवस मनाइँदै

काठमाडौं। नेपाल गणतन्त्रमा प्रवेश गरेको आज १५ वर्ष पूरा भई १६ औँ वर्षमा पुगेको छ । राजामा निहीत सार्वभौमसत्ता नेपाली जनतामा सरेको दिन नै गणतन्त्र हो । यस अवसरमा सरकारी स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर गणतन्त्र दिवस मनाइँदैछ । मुलुकको शासन व्यवस्थामा नै आमूल परिवर्तन भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

विसं। २०६२–०६३ को जनआन्दोलनको जगमा गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक देश घोषणा गरेको थियो । गणतन्त्र घोषणासँगै मुलुकमा करिब अढाई सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रको आधिकारिक अन्त्य भएको थियो ।

विसं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रद्वारा २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरिएको थियो भने विसं. २०६३ जेठ ४ गतेको संसद्को बैठकले राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसैगरी सो बैठकले तत्कालीन सशस्त्र आन्दोलनरत माओवादीलाई शान्ति प्रक्रिमा ल्याई संविधानसभाको निर्वाचन गर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो ।

राजनीतिक विकासको क्रममा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएको थियो । सोही संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । त्यसैगरी २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।

१६ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूलगायतले देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै कुनै एक वंश विशेषमा ज्येष्ठताका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता रहेको बताए ।

यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै गणतन्त्र दिवसलाई देशको संविधानको सुरक्षासँगै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको शान्ति र विकासका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

शुभकामना सन्देशमा उल्लेख छ, “हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण मात्र गरेको छैन, सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोड्ने काम पनि गरेको छ । पूर्व पश्चिम, मधेश, पहाड र हिमाललाई एकताको सूत्रमा बाँध्ने काम पनि यसले गरेको छ ।”

यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आन्दोलनले व्यवस्था परिवर्तन गरे पनि नागरिकको अवस्थामा खासै परिवर्तन नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै घिमिरेले सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न अझै आवश्यक भएको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको शुभकामना दिँदै संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताए ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको शुभकामना दिनुहुँदै गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिसमेत रहेको बताए । उनले सन्देशमा भने, “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ, जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्ग, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायका बिचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर