रेशम चौधरीको सजाय माफी, सर्वोच्च अदालतमा रिट र एमालेद्वारा आपत्ति प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको बाँकी कैद र सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकको निर्णयअनुसार चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदको सजाय माफी दिन सक्ने व्यवस्था छ ।
यसैबीच रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषदको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। २०७२ सालमा टीकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले उक्त सिफारिस खारेज गर्न माग गर्दै रिट लिएर आएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

यसैगरी एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले रेशम चौधरीको कैद माफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । संसदपरिसरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले माफी दिएको भन्दै आपत्ति जनाए । बर्तौलाले चौधरीलाई माफी दिँदा टीकापुर घटनाका पीडितलाई थप पीडा पुग्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर