अन्त्य भयो जलहरि विवाद, प्रतिनिधिसभा बैठक सुचारु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथको जलहरि प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् । पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति थियो ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई समय दिएका थिए । त्यसपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराए ।

उनले सो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानविन हुने आश्वासनसमेत दिए ।

प्रधानमन्त्री प्रचण्डले भने,  ‘‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरिबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरिलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरिका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानविन, अनुसन्धान भइरहेको छ”, प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यस विषयमा अख्तियार दुरपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानविन गर्ने नै छ । यसमा सरकारको सहयोग रहने छ । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरिसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रमसम्बन्धी उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकी विस्तृत रुपमा म त्यतिबेला नै कुरा राख्नेछु ।’’

प्रधानमन्त्री प्रचण्डले सो प्रकरणबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उनले उक्त जवाफ दिएपछि अहिले संसद बैठक सूचारु भएको छ । एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रबार (हिजो) प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर