नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जुटौँं, खटौँ र डटौँ, स्वःधर्मबाट हटेर होइन, त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघिबढौँ भन्ने भावाभिव्यक्ति प्रकट गरेका छन् । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीको अध्यक्षतामा गठित नागरिक अभिनन्दन समारोह समितिले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले उक्त अभिव्यक्ति प्रकट गरेका हुन् ।
पूर्वराजा शाहले भने, “राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ । अब हामी भन्दछौं– मिलऔं, हामी सबै मिलऔं, त्यसैले हामी भन्दछौं–जुटौं, हामी सबै एक भएर जुटौं, त्यसैले हामी भन्दछौं–हामी नफुटौँ र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौँ । त्यसैले फेरि पनि भन्छौं जुटौँ, खटौं र डटौँ, स्वःधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघि बढौँ ।”

पूर्वराजाले गरेको सम्बोधनको पूर्णपाठ यसप्रकारको छ :–

 

उपस्थित महिला तथा सज्जनवृन्द,

वीरेन्द्रनगर आएर तपाइँहरुको न्यानो आत्मीयता पाउँदा मलाई धेरै खुशी लागेको छ । यो सुखद् क्षणमा तपाइँहरुले दर्शाउनु भएको स्वागत र सद्भावप्रति म कृतज्ञता व्यक्त गर्दछु । प्राचीनकालमा एक विशाल तालका रूपमा रहेको यो सुर्खेत सुरदेवताको करुणाले पछि उर्वर खेत बनेको भनाइ रहेको छ । दैलेख, जारजरकोट, बाँके, बर्दिया, सल्यान, दाङ, डोटी अछाम र कैलाली गरी नौ जिल्लासँग जोडिएको र केन्द्रभागमा रहेको एक सुन्दर उपत्यका अहिले आधुनिक वीरेन्द्रनगर बनेको छ ।

आजभन्दा पचास वर्षअघि नेपालको विकास प्रक्रियामा सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो । धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत र दिपायललाई केन्द्रविन्दु बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिबक्सेको थियो । कर्णाली राजमार्ग, रत्न राजमार्ग, काँक्री बिहार, बुलबुले ताल, कोठीकाँडा, लाटीकोइली, बयलकाँडा, सिद्धपाइला र वीरेन्द्रनगर शहरी संरचनालाई त्यही क्षेत्रीय विकासको अवधारणाबमोजिम नै अधि आएका हुन् । क्षेत्रीय भ्रमण गरी सञ्चालित विकास कार्यको अनुगमन, निरीक्षण र सुधार गर्दै जाने काम पनि हुँदै आएको हो । २०३० को दशकदेखि नै सुरु भएका त्यस्ता सुखद सपनालाई दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्लासम्म फैलाउँदै, फुलाउँदै जानु आवश्यक छ । देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व हो ।

यो दायित्वमा निरन्तर संगठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति हो । लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, बैज्ञानिकवाद, भौतिकवाद आदि जे–जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वब्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।

तर दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ–जे–जे सुन्छौं र जस्तो जस्तो देख्छौं– त्यसबाट थाहा पाउँछौं–आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो । नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरुले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन् तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ, टिकाउको हँुदैन् । हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ ।
अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान–हाम्रो शान हो–आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौं–त्यहाँ–त्यहाँ नेपालीहरूको यस्तै, यस्तै आवाज सुन्छौं ।

त्यसैले अब कसरी जाने, के–कस्तो विधि, व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुनः ताजा रूपमा ल्याउने भन्ने कुरामा सोच्नैपर्ने बेला आएको छ । अब सोचौं के गर्दा देशको राम्रो हुन्छ ? अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ ? राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।

अब हामी भन्दछौं–मिलऔं, हामी सबै मिलऔं, त्यसैले हामी भन्दछौं–जुटौँ, हामी सबै एक भएर जुटौँ, त्यसैले हामी भन्दछौं–हामी नफुटौँ र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौँ । त्यसैले फेरि पनि भन्छौं जुटौँ, खटौँ र डटौँ, स्वःधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघिबढौँ । सबैमा फेरि एकपटक हाम्रो धन्यवाद । जय नेपाल, वीरेन्द्रनगर, मितिः २०८० साल जेठ १३ गते ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर