केही समयभित्रै ठूल्ठुला एक्सन हुनेछन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेथिति, विकृति र भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको आफूलाई अनुभव भएको बताएका छन् ।
काठमाडौंको शङ्खरापुरमा आज (शनिबार) आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा बेथिति र विकृतिका विरुद्ध लड्नुपर्नेमा जोड दिए । न

‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन ।’
‘अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठूल्ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठूलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं,’ प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदैछ । यो युद्धमा मैले पनि हाम फालेको छु । अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ । हामीसित चुनौती र अवसर दुवै छन् ।”

थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

स्व. कृष्ण सेन ‘इच्छुक’को योगदानको स्मरण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सेन बहुआयमिक व्यक्तित्वको धनी र निष्ठावान् व्यक्ति भएको तथा क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा नेपाल समाजको प्रेरणाको स्रोत भएको उल्लेख गरे । साधारणसभामा प्रेस सेन्टर नेपालका संस्थापक सदस्य, जनप्रतिनिधिमा निर्वाचित सेन्टरका केन्द्रीय सदस्य, घाइते, बेपत्ता, द्वन्द्वपीडित र पत्रकार तथा उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर