प्रतिनिधिसभाको बैठक बस्दै नबसी शनिबारसम्मका लागि स्थगित

काठमाडौं । २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक शुक्रबार बाँकी अवधिमा बस्दै नबसेर शनिबार अपराह्न ४ बजेसम्मका लागि सरको छ ।

बैठकको प्रारम्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले माओवादीका सांसद लेखनाथ दाहालले नेता केपी शर्मा ओलीको पालामा पशुपतिनाथमा राखेको जलहरिमा सुन नभई पित्तल रहेकोे भनी गत बुधबार सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा अभिव्यक्त गरेको कुरालाई विरोध स्वरूप सदनको वेल घेराउ गरेर अवरोध उत्पन्न गरेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेको थियो ।

बैठकमा एमाले सांसदहरूले माओवादीका लेखनाथ दाहालले माफी माग्नुपर्ने र उनले बोलेका कुराहरू संसदीय रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने माग राख्दै अवरोध उत्पन्न गरेका थिए । बैठक स्थगित भएपछि सभामुख घिमिरेको कार्यकक्षमा दिनभर भएको सर्वदलीय बैठकमा निकास निकाल्ने प्रयत्न गर्दा पनि दलहरू आ–आफ्नै अडानमा रहेका कारण सदन चल्न नसकेर बैठक शनिबारसम्म पर सरेको बताइएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार जलहरि विवादमा प्रतिपक्षी दल एमाले आफ्नै अडानमा रहेको सत्तापक्षीय दलहरू सर्वदलीय छानविन समिति गठन गर्नेसम्बन्धमा देखा परेका थिए । लामो समयसम्मको संवाद र छलफलबाट पनि निष्कर्ष ननिस्केपछि संसदका महासचिव भरतराज गौतमले पटक पटक स्थगित भएको बैठक भोलि शनिबारसम्मका लागि स्थगित भएको सूचना टाँस गरेका थिए ।

उता, मओवादी सांसद दाहाले जलहरि विवादमा आफूले माफी माग्ने होइन कि उल्टै ओलीले अवस्था स्पष्ट पार्नुपर्ने अडान दोहो-याएका छन् । उनले भनेका थिए, ‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यसबेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ, ‘मैले त्यतिबेला आएका विषय नै उठाएको हुँ ।’

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपथिनाथमा जलहरि राख्ने विषयमा भ्रष्टाचार भयो भन्नु बकबास र जँड्याँहाले नबोल्ने कुरा भएको भनी दाहालको अभिव्यक्तिमाथि लक्ष्य गर्दै भने ।

ओलीले भने, ‘अस्तिका दिनमात्रै एकजना माओवादी सांसदले रोष्ट्रममा उभिएर बोल्दा बोल्दा, कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसारु पशुपतिमा सुनको जलहरि चढाउँछु भनेर पित्तलको जलहरि हालेर भ्रष्टाचार गर्‍यो भनेर बोले । हुनैपर्छ संसद अवररुद्ध, किनभने यस्तो बकवास, जँड्याहाँले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन। दुई अर्ब पैसामा खायो भन्ने, त्यसको कि त पुष्टि हुन पर्‍यो ? पुष्टि हुने त कुनै सम्भावना छैन, । ‘नेकपा एमाले, त्यसमा पनि केपी ओली जसले जिन्दगीभरि भ्रष्टाचारविरुद्धमा अभियान चलाएर आएको छ। त्यही मानिसकोविरुद्ध यो त इमानका शत्रुहरूले गर्ने काम हो । देशद्रोही तत्वहरूले गर्ने काम हो।’

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति स्वरूप पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छलफलमा रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेतालाई लगाएको आरोप उचित नरहेको भनेर जाने प्रस्ताव समेत राखेका थिए तर विपक्षी एमालेले लेखकको प्रस्तावलाई अस्वीकार गर्दै आफ्नै अडान राखेको बुझिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारी नीति तथा कार्यक्रममा सांसदहरूले बोल्ने क्रम सकेपछि प्रधानमन्त्री प्रचण्डले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर