रास्वपाद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका हुन् ।

‘‘भ्रष्टाचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरु खुसुर खुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् । त्यतिमात्र होइन, राज्यका निकायहरुको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरुको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अध्याँरो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन”, सभापति लामिछानेले भने, ‘‘दिउँसै, दिनदहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरु आइरहेका छन् । यहाँ मुछिएका मान्छेहरु हेर्नुस् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? त्यसकारणले विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर त्यसको छानबिन गर्नुपर्ने हुन्छ ।’’

सभापति लामिछानेले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताए । उनले यस प्रकरणमा नाम आएकाहरु सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति प्रकट गरे । उनले नाम मुछिएकाहरु सबैसँग बयान लिन पनि माग गरे ।

‘‘हरेक नाम आएको मानिसलाई सोधपुछ हुनुपर्‍यो । उनलाई कारबाहीको दायरामा ल्याउनुपर्‍यो । खुट्टा कमाउनु भएन । हाम्रा हकमा, आम नागरिकका हकमा, बयान दिन आउँछु भन्दाभन्दै धरपकट गरेर लिएर गएको इतिहास छ । न्यूज रुमबाट समातिएको मान्छे म यहीँ छु’’, सभापति लामिछानेले भने, ‘‘मान्छेले अडियो दिएका छन् । प्रहरी प्रमुखले अडियो सही हो भनेका छन् । एक पटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरु ? यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा यो कदापि हुन दिँदैनौ । यो छानबिनले नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्दैन । संसदले विशेष समिति बनाउनुपर्छ । म अनुरोध र माग गर्न चाहन्छु ।’’ उनले प्रकरणमा नाम मुछिएकाहरुलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रहसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर