संघीय संसद्को छैटौं अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । संघीय संसद्को छैटौं अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे दुवै सदनको अधिवेशन सुरु हुनेछ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आज बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ। शीर्ष नेताको सम्बोधन अगाडि आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।
यसैगरी उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्ताव गर्ने कार्यसूची छ। बजेट अधिवेशन राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत् संसद्लाई सम्बोधन हुनेछ। जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्य तालिका प्रस्ताव भएको जानकारी दिए। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्रि-बजेट छलफल हुने कानुनी प्रावधान छ। प्रि-बजेटमै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुनेछ।