मौसम : देशभर अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । हाल नेपालमा मूख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज (शुक्रबार) दिउँसो, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेको विभागले जनाएको छ ।