शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा मड्रिड मात्र चार अंकले पछि

काठमाडौं। स्पेनी फुटबल लिगमा बार्सिलोनालाई पछ्याउने दौडमा रियल मड्रिडले बुधबार गेटाफेविरुद्ध १–० को जित दर्ता गर्दै आफ्नो लय कायम राखेको छ। अब मड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा मात्र चार अंकले पछि परेको छ।
रियलका युवा खेलाडी आर्दा गुलरले खेलको २१औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। ‘सौभाग्यले मैले त्यो गोल गर्न सकें जसले हामीलाई तीन अंक दिलायो,’ उनले खेलपछि प्रतिक्रिया दिए, ‘यो कठिन खेल हुने थाहा थियो। फाइनलअघि आत्मबल बढाउन यो जित महत्त्वपूर्ण थियो।’
शनिबार सेभिलमा हुने कोपा डेल रे फाइनलअगाडि प्रशिक्षक कार्लो एन्सेलोटीले टोलीमा धेरैजसो वैकल्पिक खेलाडीलाई मौका दिएका थिए। ब्राजिलियन फरवार्ड एन्ड्रिकले ला लिगामा पहिलोपटक सुरुआतबाट खेल्ने मौका पाए भने भिनिसियस जुनियरलाई दोस्रो हाफमा विश्राम दिइयो। जुड बेलिङहम पनि दोस्रो हाफमा मैदान प्रवेश गरे।
म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी एदुआर्दो क्यामाभिंगाले अन्तिम समयमा मांसपेशी चोटका कारण मैदान छोड्नुपर्यो। उनी शनिबारको फाइनलमा नखेल्ने सम्भावना रहेको प्रशिक्षक एन्सेलोट्टीले बताएका छन्। उनले दोस्रो हाफको सुरुआतमा डिफेन्डर डाभिड अलाबालाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए। अलाबा पनि मांसपेशी समस्याकै कारण फाइनलमा खेल्न सक्ने स्थिति कमजोर छ।
‘हेरौंला, तर दुवैको फाइनलमा खेल्ने सम्भावना न्यून छ,’ एन्सेलोट्टीले भने। यसअघि सिजनका दुई एल क्लासिको खेलहरूमा बार्सिलोनासँग मड्रिडले ठूलो अन्तरले हार बेहोरेको थियो– स्पेनिस सुपर कपको फाइनलमा ५–२ को हार र घरेलु लिगको पहिलो भेटमा सान्टियागो बेर्नाबेउमा ४–० को हार।
गेटाफेसँगको खेलमा मड्रिडका गोलकिपर थिबाउ कर्ट्वाले अन्त्यतिर दुई निर्णायक बचाउ गर्दै जित सुरक्षित गरे। ला लिगामा यो मड्रिडको लगातार तेस्रो जित हो। यद्यपि, केही हप्ताअघि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
अर्कोतर्फ गेटाफेले पछिल्ला पाँचमध्ये चार खेलमा हार बेहोरेको छ र अहिले तालिकाको १२औं स्थानमा रहेको छ। खेलको दोस्रो हाफमा गेटाफे समर्थकहरूले मड्रिडका खेलाडी डानी सेबालोसलाई लक्षित गर्दै ‘सेबालोस, मर्नु’ भन्ने नारा लगाएपछि खेल केहीबेर रोकिएको थियो।