सुदीपको शव वुटवल ल्याइयो : परिवार विक्षिप्त अवस्थामा

काठमाडौं ।  भारतको जम्मु कश्मीरमा आतङ्कवादी हमलामा परी मृत्यु भएका सुदीप न्यौपानेको शव बिहीबार बिहान बुटवल ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ११ मा बसोबास गर्दै आएका २७ वर्षीय सुदीप न्यौपानेको आजै दाहसंस्कार गर्ने परिवारजनले जनाएका छन् । सुदीपसहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु काश्मीर घुम्न घरबाट भारततर्फ प्रस्थान गरेका थिए ।

बुटवल उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष तथा सुदीपका माइलो बुवा दधिराम न्यौपानेका अनुसार नयाँ दिल्लीबाट लखनउसम्म जहाजमा र त्यहाँबाट एम्बुलेन्समा सुदीपको शब बुटवलसम्म ल्याइएको हो । उनले सुदीपको आजै दाहसंस्कार गर्ने तयारी भइरहेको बताए । जम्मू–कश्मीरस्थित पहलगाममा मङ्गलवार पर्यटकको समूहमाथि इस्लामी धर्मिक आतंकवादी ले गरेको आक्रमणमा सुदीप पनि परेका थिए ।

वुटवल शोकमग्न : परिवार विक्षिप्त अवस्थामा

आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवल कालिकानगरका सुदीप न्यौपानेको घर रहेको मनकामना टोल मात्र होइन बुटवल शोकमग्न छ । उनको बुवा बस्ने बुटवल १४ बेलबरिया र उनीहरू बस्ने कालिकानगरको घरमा बिहानैबाट आफन्त, शुभेच्छुकहरूको भीड लागेको छ । आमा रिमा पाण्डे, बहिनी सुष्मा सुदीपको शवलाई घरमा पुर्‍याएदेखि नै मुर्च्छित अवस्थामा छन् ।

ज्वाइँ उज्ज्वल काफ्लेले बन्दुकधारीहरूको उक्त समूहले बाटोमा सँगै हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । ‘त्यहाँ केही बोल्ने अवस्था नै थिएन, एकाएक ताकेरै गोली हाने , कुनै कल्पना गर्न सक्ने घटना थिएन, त्यसपछि आमा र श्रीमती सम्हाल्नुबाहेक अरू सोच्नै सकिन’ उनले भने । ‘त्यो घटनाले दिएको पीडाबारे केही बोल्न सक्ने अवस्था छैन, कसरी परिवारलाई सम्हालेर ल्याएँ भन्ने सम्झनसमेत सकेको छैन’, काफ्लेले भने ।

सुदीपको शव बिहीबार बिहानै बुटवलस्थित घरमा ल्याइएको छ। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएपछि न्यौपाने परिवार विक्षिप्त अवस्थामा  छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर