राजनीतिक दलको आयव्यय शंकास्पद, महालेखा परीक्षकबाट परीक्षण गराइने

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलको लेखा परीक्षण जाँचबुझ गर्न महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाइदिन पत्राचार गरेको छ। राजनीतिक दलले बुझाएको आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले विशेष कर्मचारीबाट लेखापरीक्षण गराउने निर्णय गरेको थियो।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले महालेखा परीक्षकको कार्यालयलाई पाँच जना विशेषज्ञ कर्मचारी पठाइदिन अनुरोधसहित पत्राचार गरेको छ। आयोगले विशेषज्ञ कर्मचारीको तह नै किटान गरेको छ। महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको बैठकको निर्णयबमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका एक, राजपत्राङ्कित तृतीय श्रेणीका दुई र राजपत्र अनङ्कित प्रथम श्रेणीका दुई गरी पाँच जना माग गरिएको जानकारी दिए ।

आयोगले पठाएको पत्रमार्फत आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने दलहरूको लेखापरीक्षण प्रतिवेदन, लेखासम्बन्धी कागजातलगायतका विवरण जाँचबुझ गर्ने कार्यका लागि कर्मचारी खटाई पठाइदिन अनुरोध गरिएको छ। राजनीतिक दलले माघभित्र आयोगमा गत आर्थिक वर्ष २०७८र७९ को आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदन बुझाउनुपर्ने थियो। आयोगमा दर्ता कायम भएका १ सय १६ राजनीतिक दलमध्ये नौ राजनीतिक दलले समयावधि सकिएपछि र १६ राजनीतिक दलले प्रतिवेदन नै बुझाएनन्।

प्रतिवेदन बुझाएका राजनीतिक दलको आयव्ययको विवरणसमेत अस्पष्ट र शङ्कास्पद देखिएको छ। आयोग पदाधिकारीको वैशाख २६ गतेको बैठकले दलले आयोगमा बुझाएको आयव्ययको विवरण र दलको कार्यालयमा रहेको विवरणसँग भिडाएर लेखापरीक्षण जाँच्ने निर्णय गरेको थियो।

राजनीतिक दलसम्बन्धी ऐनमा आयोगले तोकेको अधिकृत वा विशेषज्ञले दलको हिसाबकिताब र लेखा जुनसुकै बखत माग गर्न वा निरीक्षण गर्न सक्ने व्यवस्था छ। सोही ऐनले लेखापरीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिएबमोजिम जाँच गराउन सक्ने व्यवस्था गरेको छ। ऐनको सोही व्यवस्थालाई टेकेर आयोगले दलहरूको लेखापरीक्षण प्रतिवेदन, लेखासम्बन्धी कागजात, विवरण जाँचबुझ गर्ने लगायतका कार्य गर्न विशेषज्ञ परिचालन गर्न लागेको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर