बर्खायाममा पनि मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौं ।  काठमाडौं उपत्यकामा अस्थायी रूपमा हिउँदमा मात्रै आउने गरेको मेलम्ची खानेपानी आयोजनाको पानी यो वर्ष बर्खाको समयमा पनि नियमित ल्याउने तयारी गरिएको छ । २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स पूर्णरूपले क्षतिग्रस्त भएदेखि हिउँदमा मात्रै मेलम्चीको पानी वितरण हुँदै आएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार भैँसेपाटीस्थित बोर्ड प्राङ्गणमा आयोजित समारोहमा खानेपानीमन्त्री प्रदीप यादवले यो वर्षदेखि बर्खामा पनि मेलम्ची खानेपानी आयोजनाको पानी नियमित रूपमा वितरण हुने बताए । उनले भने, “यो वर्ष बर्खायाममा काठमाडौं उत्यकामा मेलम्चीको पानी वितरण बन्द हुँदैन । हामीले बर्खायाममा मेलम्चीको विकल्प खोजिसकेका छौँ । मेलम्ची खोलामा बाढी आएमा वा पानी धमिलो भएमा खोलामा अस्थायी हेडवर्क्स निर्माण गरी त्यहाँको पानी काठमाडौंमा वितरण गर्ने छौँ । यसको निर्माण कार्य अगाडि बढिसकेको छ ।”

उनले तुलनामा स्रोत केही कम भए पनि विगतका वर्षमा जस्तो पानी पूर्ण रूपमा बन्द नहुने बताए । मेलम्चीको पानी दसैँअगाडि आउँछ कि दसैँपछाडि ? भन्ने झन्झट समाप्त भएको उनको दाबी छ । उनले खानेपानी मन्त्रालयबाट भएको अध्ययनले आयोजनाको अहिलेको हेडवर्क्स काम नलाग्ने र नयाँ बनाउनुपर्ने देखाएको बताउँदै उनले मेलम्ची खानेपानी आयोजनाको मुहान स्थानान्तरण गर्ने योजनासमेत अगाडि बढिसकेको जानकारी दिए । मन्त्री यादवका अनुसार मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलमा २५ करोड लिटर पानी प्रशोधन गर्न सक्ने संरचना निर्माण प्रव्रिmया अगाडि बढिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर