कक्षा १२ को परीक्षा वैशाख ११ गतेनै हुने बोर्डको स्पष्टोक्ति, भ्रममा नरहन अपिल

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रममा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डले आग्रह गरेको छ ।

बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनाधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ । बोर्डले सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ ।

परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । बोर्डको वेबसाइटमार्फत् सूचना सार्वजनिक हुने हुँदा अन्य स्रोतबाट प्रवाह भएका कुनै पनि सूचनामा भर नपर्न अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर