रुस र युक्रेनले युद्ध रोक्ने चासो नदेखाए अमेरिका किनार लाग्ने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेन र रसिया तयार नभए आफूले वार्ता प्रयास छोड्दिने बताएका छन्। डोनाल्ड ट्रम्पले भने, ‘यदि मस्को वा कीभले शान्ति सम्झौतामा पुग्न धेरै अप्ठ्यारो अवस्था बनाउने हो भने अमेरिका यो प्रयासमा आफूलाई सँधै अल्झाइरहँदैन अघि बढ्छ।’ ह्वाइट हाउसको ओभल अफिसमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपतिले एकदमै चाँडै शान्ति सम्झौता होस् भन्ने आफूले चाहेको भए पनि त्यो कति दिनमा हुन्छ भन्ने निश्चित नभएको बताए।
उनले यो टिप्पणी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनसँगको वार्ता पछि कुनै ठोस् सहमति नबनेको भनेर दिएको प्रतिकृया पछि आएको हो। रुबियोले चेतावनी दिएका थिए कि केही दिनभित्र स्पष्ट प्रगति नदेखिए अमेरिका वार्ता परित्याग गर्ने छ।रुबियोले भने, ‘हामी हप्तौँ र महिनौँसम्म यो प्रयासमा लागिरहने छैनौं’ उनले थपे ‘हामीसँग ध्यान केन्द्रित गर्नुपर्ने अरू धेरै प्राथमिकताहरू छन्।’
यो घटनाक्रम त्यसैबीचमा भएको छ जब रुसले युक्रेनमाथिको आक्रमण जारी राखेको छ। शुक्रबार उत्तर–पूर्वी शहरहरू खार्किभ र सुमीमा भएको रुसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका थिए। रुसले सन् २०२२ मा युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गरेको थियो, र अहिले पूर्वी युक्रेनमा रुसी सेना विस्तारै अगाडि बढिरहेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि आफ्ना स्पप्ट सर्तहरु राखेका छन्। जसमा उनले युक्रेनी सेना चार ओब्लास्टबाट फिर्ता हुनुपर्ने जसमा डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिझिया ओब्लास्टहरूबाट युक्रेनी सेनाले पूर्ण रूपमा फिर्ता हुनुपर्ने पुटिनको माग छ। यी क्षेत्रहरूलाई रुसले आफ्नो ‘ऐतिहासिक भूमि’ भएको दाबी गरेको छ।
त्यस्तै नाटोमा सदस्यता नलिने प्रतिबद्धता जनाउनुपर्ने रुसको अर्को सर्त रहेको छ। उसले युक्रेनले नाटोमा सामेल नहुने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको छ। त्यस्तै न्युट्रल र गैर-न्यूक्लियर स्थितिको सुनिश्चितता हुनु पर्ने जनाएको छ। युक्रेनले आफूलाई तटस्थ र गैर-न्यूक्लियर राष्ट्रको रूपमा घोषणा गर्नुपर्ने माग रुसको छ। त्यस्तै रुसविरुद्ध लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने पनि पुटिनले आफ्नो अडानमा राखेका छन्। उनले रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाउनुपर्ने शर्त राखेका छन्।
साथै पुटिनले युक्रेनको ‘असैनिकीकरण’ र ‘डेनाजिफिकेशन’ को अर्को माग गरेका छन्। त्यस्तै रुसी भाषी नागरिकहरूको अधिकार सुनिश्चित गर्नुपर्ने रुसको अडान रहेको छ। पुटिनले यी शर्तहरूलाई ‘अन्तिम समाधान’ को रूपमा प्रस्तुत गर्दै ती विषयमा सहमति नभएमा युक्रेन वा पश्चिमी राष्ट्रहरूले त्यसको राजनीतिक र नैतिक जिम्मेवारी उनीहरूकै हुनुपर्ने बताएका छन्।