गण्डकीलाई केपी ओली कप क्रिकेटको उपाधि

काठमाडौं । केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ। मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो। च्याम्पियन गण्डकीले १० लाख रुपियाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपियाँ प्राप्त गरेको छ।
१ सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९ दशमलव ४ ओभरमा १ सय ८२ रन बनाउँदै अलआउट हुन पुग्यो। उत्कृष्ट ब्याटर अत्तरियाका विपीन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपियाँ प्राप्त गर्नुभयो। विजेता खेलाडीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुरस्कार वितरण गरे । चैत २३ गतेबाट सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो। बागमतीबाट चार र अन्य प्रदेशबाट दुई/दुई क्लबको सहभागिता रहेको थियो।