बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । बारामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुर–सिमरा उपमहानगरपालिका–१६ स्थित भुइँपुल नजिकै टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
आज शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किँन पुग्दा उक्त दुर्घटना भएको हो ।
दुर्घटनाबाट कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको मृत्यु भएको छ भने मृत्यु भएका कारचालकको परिचय नखुलेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले जानकारी दिएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि निजगढ नगरपालिकास्थित प्रसूति अस्पताल लगिएको थियो तर जाँच गर्दा दुबै जनाको मृत्यु भइसकेको अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनापछि फरार रहेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।