निर्वाचन आयोगबाट प्रमुख आयुक्त थपलिया बिदा भए

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ६ वर्ष कार्यकाल पूरा भएको छ । उनले ६ वर्षअघि प्रमुख निर्वाचन आयुक्तको पद सम्हालेका थिए । थपलिया २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए।

आज आयोगद्वारा आयोजित बिदाइ कार्यक्रममा आफ्नो ६ वर्षको कार्यकालको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्वपूर्ण अवसरको रूपमा लिएको उनले बताए। थपलियालाई निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबराले पुष्पगुच्छा र मायाको चिनो उपहार प्रदान गरेका थिए। सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियालाई आयोगका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए।

आफ्नो कार्यकालमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचनहरू, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचनहरू स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फूर्त अभिव्यक्तिमार्फत् लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको उनको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर