कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन हुने

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको सूचना भ्रामक भएको बोर्डले जनाएको छ ।

सामाजिक सञ्जालमा परीक्षा स्थगित भएको गलत सूचना सम्प्रेषण गरिएको भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेब साइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सोमार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न समस्त सरोकारवालामा बोर्डले अनुरोध गरेको छ ।

परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर स्क्यान गरी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको बोर्डले जनाएको छ। बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन सम्पूर्ण विद्यार्थीहरूमा बोर्डले अनुरोध गरेको छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई राष्ट्रिय परीक्षा बोर्डले पुनः अपिल पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर