आफ्नै रेकर्ड तोड्ने प्रयासमा आरोही कामीरिता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो ।
एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो जस्तै भएको छ । उनी एकै ‘सिजन’ मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगरेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही हुन् ।
कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लागेका छन् । नहाँले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ज गरेका थिए। पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले जानकारी दिए। “सगरमाथा आरोहणका लागि एक÷दुई दिनपछि जाँदैछु, यो ३१ पटकको आरोहण हो । कतिपटक सगरमाथा चढ्ने भन्ने विषय आरोहण क्षेत्रको मौसम र अवस्थाले निर्धारण गर्छ”, उनले भने ।
आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको जिकिर गरे । उनी सेभेन समिट ट्रेक्स प्रालिमार्फत भारतीय सेनाको टोलीलाई लिएर यसपटक सगरमाथा आरोहणमा जान लागेका हुन् ।