नेपालले हङकङलाई ९ विकेटले हरायो

काठमाडौं । आईसीसी यु१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङलाई नौ विकेटले पराजित गरेको छ। ११६ रनको लक्ष्य पाएको नेपाली टोलीले १२.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि निरज कुमार यादव २३ रन बनाएर आउट हुँदा साहिल पटेल र कप्तान नरेन भट्टले अविजित रहँदै क्रमशः ४२ र ३९ रन जोडे। हङकङका सायन पुरीले एक विकेट लिए।
त्यसअघि तल्लो मुलपानी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको हङकङ ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएसँगै नेपालले ११६ रनको लक्ष्य पाएको हो।
उसका लागि कप्तान तथा विकेटकिपर शिव माथुरले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक आर्या पञ्जवानी १३, वीर माथुर १२, ह्यारी थोमस हड्गसनले १० रन जोडे। नेपालका युवराज खत्रीले चार विकेट लिँदा विपिन प्रसाद शर्मा तीन, सन्तोष यादव दुई र अशोक धामीले एक विकेट हात पारे। आजको जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। अब नेपालले शनिबार अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ।