इन्टर मिलानको ‘ट्रिबेल’ उपाधि जित्ने सपना अझै पनि जीवित

काठमाडौं। इन्टर मिलानको ‘ट्रिबेल’ उपाधि जित्ने सपना अझै पनि जीवित छ। मिलानले च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई उसकै घरेलु मैदानमा २–१ ले पराजित गर्दै ठूलो जित दर्ता गरेको छ। यो बायर्नको करिब चार वर्षपछि घरेलु मैदानमा भएको पहिलो युरोपेली हार हो।

खेलको पहिलो हाफमा लउटारो मार्टिनेजले इन्टरका लागि गोल गर्दै अग्रता दिलाएका थिए। उक्त गोल केही अगाडि ह्यारी केनको पोस्ट लागेको प्रहारपछि निस्किएको हो। इङ्ल्यान्डका फरवार्ड केन त्यो मौका चुकाउँदा निकै निराश देखिएका थिए।

बायर्नका अनुभवी खेलाडी थोमस मुलरले अन्तिम पाँच मिनेटमा बराबरी गोल फर्काएर खेल १–१ मा ल्याएका थिए। तर, त्यसपछि तीन मिनेटमै डाभिडे फ्रात्तेसीले निर्णायक गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए।

‘आजको खेल सजिलो थिएन, हामीलाई त्यस्तै अपेक्षा पनि थिएन,’ मुलरले भने,‘हामीसँग धेरै अवसर थिए। तर, अन्त्यमा काउन्टर अट्याकबाट गोल खाँदा खेल गुमायौं।’

यो जितसँगै इन्टरको च्याम्पियन्स लिगको फाइनलमा पुग्ने आशा बलियो भएको छ, जुन मे ३१ मा म्युनिखकै स्टेडियममा हुनेछ।

इन्टरका डिफेन्डर एलेस्सान्द्रो बास्टोनी खेलमा म्यान अफ द म्याच घोषित भए। उनी भन्छन्,‘हामीलाई थाहा छ हामीसँग सामूहिक शक्ति छ र त्यसले हामीलाई कसैसँग पनि जित्न सक्ने बनाउँछ।’

बायर्नको टोलीमा चोटग्रस्त खेलाडीको सूची लामो थियो। मुख्यत: जमाल मुसियाला घाइते भएकाले उनी खेल्न सकेनन्। अर्कोतर्फ इन्टरका पनि केही खेलाडी उपलब्ध थिएनन्। खेलको २६औं मिनेटमा केनले गोल गर्नुपर्ने स्पष्ट मौका गुमाए। उनले पेनाल्टी क्षेत्रभित्र पाएको बललाई पोस्ट बाहिर हानेपछि निराश हुँदै घुँडा टेकेर अनुहार छोपेका थिए।

३६औं मिनेटमा इन्टरले अग्रता लियो। लउटारोले मध्य मैदानबाट बल लिएर कार्लोस अगस्टोलाई पास दिएका थिए, उनले मार्कस थुरामलाई पास दिए। जसले बल फर्काएर लउटारोलाई दिएका थिए। लउटारोले त्यसलाई जाली च्यात्ने गरी गोलमा परिणत गरे।

बायर्नले दोस्रो हाफमा दबाब बढाउँदै बराबरी गोल फर्कायो। ८५औं मिनेटमा मुलरले गोल गरेपछि खेल बराबरीतिर फर्किएको देखिन्थ्यो। तर, त्यसपछि इन्टरले पुन: आक्रमण गर्दै ८८औं मिनेटमा कार्लोस अगस्टोको पासमा फ्रात्तेसीले सजिलै गोल गर्दै इन्टरलाई विजय दिलाए।

अब अर्को हप्ता सान सिरोमा हुने दोस्रो लेगमा बायर्नसँग इन्टर पुनः भिड्नेछ। विजेताले बार्सिलोना वा बोरुसिया डर्टमुन्डसँग सेमिफाइनल खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर