प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगित भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भाेलि बिहीवार बस्ने जानकारी दिए ।
आजको बैठकको शुरूमै प्रतिपक्षी दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । उनीहरूले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरेका थिए । प्रतिनिधिसभाको बैठक भाेलि बिहान ११ बजे बस्ने तय भएको छ ।
स्पष्टीकरण मनासिव नभए आन्दोलन अघि बढ्ने : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताएका छन्। बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नसक्ने स्पष्ट पारे। विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहजरूपमा लिनुपर्ने उनको भनाइ छ।