नेप्से सूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा

काठमाडौं । नेप्से सूचक आइतबार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा आएको छ । १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यसआधारमा सेयर बजारले विस्तारै सकारात्मक बन्ने पहल गरेको देखिन्छ ।

यही क्रममा नेप्सेले सूचक आइतबार इन्ट्रा डे मा १९ सयको मनोवैज्ञानिक विन्दुलाई समेत छुन सफल भएको छ । सूचक १९ सयको तहमा पुगेपछि भने केही करेक्सन भयो । यस्ता विन्दुहरुले मनोवैज्ञानिकरुपमा पनि विशेष महत्व राख्छन् । करिब २१ महिना बियरिस चक्रमा हिँडेर १८०७ विन्दुसम्म झरेको बजार विस्तारै सम्हालिने प्रयासमा लागेको देखिन्छ ।

नेप्से १८ सयभन्दा तल झर्न नसकेकाले अब क्रमशः माथितिरकै यात्रामा लाग्ने कतिपय विश्लेषकहरुको भनाइ छ । केहीले भने अझै केही समय ‘पर्ख र हेर’ कै अवस्था रहेको पनि भनिरहेका छन् । त्यसो त लामो समयदेखि बजार वियरिस ट्रेन्डमा हिँडेको छ । अब बजारले वृद्धि क्रमलाई निरन्तरता दिन्छ कि दिंदैन ? त्यो महत्वपूर्ण पक्ष हुनेछ । बढेको बजारले निरन्तरता पायो अनि कारोबार रकम पनि वृद्धि हुँदै गयो भने नेप्से अझै माथि जाने विश्लेषण गर्न सकिन्छ ।

केन्द्रीय बैंकको नीति पनि ब्याजदर घटाउनेतर्फ नै केन्द्रित भएको छ । मुख्ययतः ब्याजदर घट्न सुरु गरेकै कारण बजार सकारात्मक देखिएको हो । अहिले बजारमा सकारात्मक माहोल देखिनुको अर्को कारण सेयर भाउ निकै सस्तो हुनु पनि हो । निरन्तर घटेको बजारमा सबल वित्तीय सूचक भएकै कम्पनीको मूल्य पनि निकै तल्लो विन्दुमा आइसकेको छ । पीई रेसियोले पनि यसको पुष्टि गर्छ । निरन्तर घटेको बजारमा अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका लगानीकर्ता उत्साहित हुँदै जानु स्वभाविक नै हो ।
आज २७३ कम्पनीको ४८ लाख २८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राष्ट्रिय बिमा कम्पनी र तारागाउँ होटल परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर