प्रधानमन्त्री कुलमानसँग क्रुद्धहुँदै भने, “उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनु भो ?”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ कुनै एक व्यक्तिका कारणमात्रै नहटेको टिप्पणी गरेका छन् । विभिन्न सरकारहरुले गरेका कामका कारण लोडसेडिङ हटेको ओलीको भनाइ थियो । एक व्यक्तिका कारण मात्र हटेको हो भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।
बालुवाटारमा आज मंगलबार आयोजित कार्यक्रममा ओलीले कुलमानको नाम नलिई भने, ‘नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो ?’ ‘पूर्ववर्ती सरकारले हिजो त्यहीँ काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो । अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो’, उनले भने ।
‘उ बेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो, त्यसबेला ल्याउनुभएको थियो कि, उहाँले नियुक्ति गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर, के बाकेर आउनुभयो ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रूपमा, जादुको रूपमा व्याख्या गर्न खोजियो । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्छु’, ओलीको टिप्पणी थियो ।
ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘प्रमिथस’ को प्रसंग निकाल्दै प्रचण्ड प्रमिथस बन्न खोजेको आरोपसमेत लगाए ।