पूर्वराजाको गोरखा धार्मिक यात्राबाट राजावादीहरू उत्साहित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पुर्खाको थलो गोरखा आउन पाउँदा निकै खुसी लागेको बताएका छन् । गोरखाको गोरखकाली मन्दिर पूजाअर्चना पुगेका बेला शनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो। सबैलाई भेट्दा पनि खुसी लागेको छ। अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ ।’
शाहले आज मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पूजाअर्चनासमेत गरे । शाहले भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको अवलोकन समेत गरे । शाह मनकामना र गोरखकाली मन्दिरमा पुग्दा ठूलो जनसंख्याले उनको स्वागत, सत्कार गरेर जय जयकारसमेत गरेका थिए । राजावादीहरूले आबुखैरेनीदेखि गोरखा दरबारसम्म मोटरसाइकल र्याली पनि गरेका थिए । शाहको गोरखा भ्रमण सफल पार्न नागरिक समाज गठन गरिएको थियो । राजावादीहरूले पूर्वराजाको आजको धार्मिक यात्रालाई चैत १५ गतेको आन्दोलनको रिहर्सलको रूपमा लिएका छन् ।