संसदमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा शून्य समयमा उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्‍याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गरिन् ।

उनले भनिन्, ‘हिजो सत्तापक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भर्त्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्‍याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’

साथै उनले त्यस्तो कार्य गर्नका लागि आफ्नो परिवारबाट अगाडि बढाउनको लागि आँट गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरिन् । सांसद घिमिरेले हिजो आइतबार मुलुकको अर्थतन्त्र सुधारको लागि र पर्यटकको सङ्ख्या बढाउन यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर