हुथी विद्रोहीमाथि अमेरिकी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

काठमाडौं ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएका छन्। ट्रम्पले यसको कारण लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमण भएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘इरानद्वारा समर्थित हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।’ उनले हुथी विद्रोहीहरूको डकैती, हिंसा र आतंकले अर्बौं डलरको क्षति पुर्‍याएको र मानिसहरूको जीवनलाई जोखिममा पारेको बताए।

हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र नौ जना घाइते भएको जनाएको छ।
गाजामा इजरायल-हमास युद्धको प्रतिक्रियास्वरूप हुथी विद्रोहीहरूले जहाजहरूलाई निशाना बनाउन थालेका थिए। हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ आफ्नो सैन्य बलले दिने बताएका छन्।

हुथी विद्रोहीहरूले शनिबार साँझ साना र उत्तरी प्रान्त सादामा श्रृंखलाबद्ध विस्फोट भइरहेको जनाएका बीबीसी समाचारमा उल्लेख छ। यो साउदी अरेबियासँगको सीमामा रहेको हुथी विद्रोहीहरूको बलियो गढ हो। इरान समर्थित यो विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मान्दछ। यसले साना र यमनको उत्तरपश्चिमी भाग नियन्त्रण गर्छ, तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइन।

विमानस्थल तथा सैन्य अड्डा आसपास धुँवाको मुस्लो देखिएको छ। हुथी विद्रोहीहरूले यमनको राजधानी सानाको आवासीय क्षेत्रहरूलाई लक्षित गरी गरिएको आक्रमणको लागि अमेरिका र बेलायतलाई दोष दिएका छन्। शनिबार हुथी विद्रोही विरुद्धको अमेरिकी आक्रमणमा बेलायतले भाग नलिएको निश्चित भए पनि यसले अमेरिकालाई नियमित रूपमा इन्धन भर्ने सहयोग भने प्रदान गरेको थियो।

नोभेम्बर २०२३ देखि हुथी विद्रोहीहरूले लाल सागर र एडेनको खाडीमा दर्जनौं व्यापारिक जहाजहरूलाई लक्षित गरी मिसाइल, ड्रोन आक्रमण गरका थिए। उनीहरूले दुईवटा जहाज डुबाए, एउटा कब्जा गरे र चार जना चालक दलका सदस्यहरूलाई मारेका जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर