लोडसेडिङको हल्ला बेकार छ : कुलमान

काठमाडौं । भारतले आज आइतबार देखि नेपालमा विद्युत् आपूर्तिमा नियन्त्रण गरे पनि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतले मार्च १६ तारिखदेखि नेपालमा दिउँसोको समय (सोलार आवर) अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र इन्डियन इनर्जी एक्सचेन्जमार्फत विद्युत् उपलब्ध गराउने र अन्य समयमा विद्युत् दिन नसक्ने जनाएको छ । इनर्जी एक्सचेन्जबाट बोलकबोलको समयमा सीमितता आएपछि नेपालमा विद्युत् व्यवस्थापनका लागि राति लोडसेडिङ हुने आशङ्का रहेको छ तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत्को उचित र प्रभावकारी व्यवस्थापनमार्फत लोडसेडिङको अवस्था आउन नदिइने स्पष्ट पारेको छ ।
“केहीले लोडसेडिङ हुन्छ कि भन्ने आशङ्का गरिरहेको पाइएको छ”, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “सोलार आवरको समयबाहेकको समयमा विद्युत् व्यवस्थापन गर्न हामीले आवश्यक व्यवस्थापकीय प्रबन्ध गरिसकेका छौँ । लोडसेडिङको हल्ला बेकार छ ।”
पछिल्लो पटकको हिउँदे वर्षा हिमाली क्षेत्रमा भएको हिमपातका कारण खोलानालामा जल प्रवाह बढेकाले जल प्रवाही आयोजनाबाट विद्युत् उत्पादन बढेको छ । त्यस्तै मौसम अनुकूलताका कारण घरायसी प्रयोजनमा हिटर बाल्नुपर्ने अथवा पङ्खा एसी चलाउनुपर्ने अवस्था पनि छैन । यसकारण लोड व्यवस्थापन सहजै हुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
“पिक आवरमा हामीलाई चाहिने १७ सय मेगावाट आसपासको विद्युत् व्यवस्थापन गर्न प्राधिकरणलाई समस्या छैन, सर्वसाधारणलाई बिजुली दिन हामी सक्षम छौँ,” उनले भने, “आपूर्ति प्रणालीको सीमितताका कारण केही उद्योगमा पिक आवरमा विद्युत् नपुग्न सक्छ, पिक समयमा सामान्य अवस्थामा पनि उद्योग सञ्चालन नगर्ने भनिएको हुन्छ नै ।” प्राधिकरणको योजनाअनुसार साँझ ६ बजेसम्म देशभित्रका जलाशय तथा अर्धजलाशययुक्त आयोजनामा दिनभर पानी सञ्चित गरेर पिक आवरमा पूर्ण क्षमतामा चलाइने छ ।
गएको असोजमा क्षति पुगेको अपर तामाकोशी जलविद्युत् आयोजना तीव्रताका साथ पुनर्निर्माण गरी पूर्ण क्षमतामा चलाइएकाले पनि प्राधिकरणलाई अहिले सहज भएको देखिन्छ । पिक आवरमा ४५६ मेगावाटको अपर तामाकोशी, १४४ मेगावाटको कालीगण्डकी र कुलेखानी १, २ र ३ गरी १०६ मेगावाटलाई प्राधिकरणले यही रणनीतिअनुसार सञ्चालन गर्नेछ । “हामीले चैत लाग्दासम्म पनि कुलेखानी चलाउनु परेको छैन,” घोषले भने, “पिकमा यो चलाउँदा हामीलाई सहज हुन्छ ।” विगतमा पनि प्राधिकरणले पिक आवरमा आइआइएक्समा बिजुली महँगो पर्ने भएकाले खासै आयात नगर्ने व्यवस्था मिलाइएको थियो । यसबाहेक नेपाल–भारत द्वि–पक्षीय विनिमय समितिको सम्झौताका आधारमा प्राधिकरणले पिक आवरमा चाहिँदा विभिन्न प्रसारण लाइनमार्फत आपूर्ति गर्ने गरेको छ ।
पन्ध्र दिनपछि भने चुनौतीपूर्ण
प्राधिकरणले हालको अवस्थामा विद्युत् व्यवस्थापन सहज भने पनि अप्रिल २०२५ (यहि चैत १९ गते) देखि भने प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या पर्ने देखिएको छ । गत माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न दुई देशीय विद्युत् विनिमय समिति (पावर एक्सचेन्ज कमिटी) ले सन् २०२६ मार्चसम्मका लागि दुई देशबिच विद्युत् खरिद बिक्रीको सम्झौता गरेको थियो । माघ २९ गते नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारतीय समकक्षीबिचको सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकको सहमतिका आधारमा विनिमय समितिले मूल्य संशोधनसहित विद्युत् आदानप्रदानको सम्झौता गरेको थियो ।
आयातनिर्यात दुवैमा लागु हुने गरी १।५ प्रतिशतको मूल्यवृद्धिसहित यस्तो सम्झौता गरेको थियो तर सो सम्झौता नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले अझै स्वीकृत गरिसकेको छैन । यसलाई विद्युत् नियमन आयोगले समेत स्वीकृत गर्नुपर्ने हुन्छ । प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई यो विषयमा समेत स्पष्टीकरण सोधिएकाले स्वीकृत गर्ने प्रक्रिया चलेकै छैन ।
आउँदो अप्रिल १ सम्म यसलाई स्वीकार गरी भारतीय पक्षलाई जानकारी नगराए अप्रिलदेखि दुई देशीय सम्झौताका आधारमा भइरहेको विद्युत् आयातनिर्यात बन्द हुने छ । यसरी बन्द हुँदा १३२ केभीका कटैया–कुसाहा, रामनगर–बर्दघाट, रक्सौल परवानीपुर र मनैया–सम्पत्तीया–बुटवल प्रसारण लाइनबाट भइरहेको नियमित आयात बन्द हुने छ । यसबाट विराटनगर बारापर्सा औद्योगिक कोरिडोर, भैरहवा तथा बुटवल क्षेत्रका औद्योगिक कोरिडोर र गार्हस्थ उपभोक्तासमेतको विद्युत् आपूर्तिमा समस्या आउने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।